दार्चुला – बलात्कारको आरोप लागेका शिक्षक राम सिह धामीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत दार्चुलाले १० दिनको म्याद दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख एव सुचना अधिकारी राजेश शाहीले अहिले शिक्षक धामी विरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
जिल्ला अदालत दार्चुलाले गत शुक्रबार नै बलात्कारको आरोप लागेका शिक्षक धामीलाई थुनामा राखेर १० दिन सम्म अनुसन्धान गर्न अनुमति दिएको हो ।
मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले उनलाई गत बुधबार पक्राउ गरेको थियो । पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएपछि धामी प्रक्राउ परेका हुन ।
पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने पनि बताइएको छ। आरोपित शिक्षक धामीले किशोरीलाई गत सालको फागुन महिनामा पहिलोपटक बलात्कार गरेको पनि खूलन आएको छ । आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडिओ पनि बनाएको र त्यहीँ भिडिओ देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेका थिए। आरोपित धामीले बनाएको भिडिओ पनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ।
यही जेठ ६ गते आरोपित धामीले उक्त भिडिओ आफ्नो एकजना साथीको पर्सनल म्यासेजमा पठाएका थिए। त्यसपछि त्यो उनका साथीले त्यो भिडिओ अरु व्यक्तिहरुलाई सेयर गरेका थिए।यसरी सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एकजनाले फेसबुकमा सार्वजनिक गरेका थिए। त्यसपछि यो घटना बाहिरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।