काठमाडौं– भारतका लोकप्रिय गायक कृष्णकुमार कुननाथको मृत्यु भएको छ । उनको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले चिनिने ५३ वर्षीय उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए ।
कार्यक्रममा नै आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका उनलाई त्यहाँबाट फर्किएपछि निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । उनका अनुसार केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ । केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि उनले बताए ।
तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका थिए । यो लाइभ शो नजरुल मञ्चमा भइरहेको थियो। तर कार्यक्रमकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि उनी होटल फर्किए ।
होटलका फ्यानले उनीसँग फोटो खिच्न आग्रह गरेका थिए । तर बिग्रिएको स्वास्थ्यका कारण उनले त्यसलाई अस्वीकार गरे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा पुर्याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
केकेले धेरै बलिउड फिल्मका लागि गीत गाएका छन् । ‘हम दिल दे चुके सनम’ मा उनले गाएका ‘तडप तडप के इस दिल से….’ र ‘ओम शान्ति ओम’ मा ‘आँखों मे तेरी…’ लाई दर्शकले राम्रै रुचाएका थिए। उनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।