पोखरा – पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउडमा अनिवार्य विरुवा रोप्न नगरवासीलाई आग्रह गरेका छन् । विश्व वातावरण दिवशको अवसरमा आईतबार महानगर पालिकाका मेयर धनराज अचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरेका हुन् ।
महानगरपालिकाले आईतबार ५० औं विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर – एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।
केही वर्ष अगाडि सेती नदिमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको वाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा राखे । उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गरे ।
पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पिपल मासिएको उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसंग बसेर निस्कर्षमा पुगिने बताए ।
मेयर आचार्यले पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने भन्दै खाली जमिनमा बृक्षारोपण कार्यक्रम गर्न पोखरास्थित सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेका छन् । बृक्षारोपणका लागि बृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका विरुवाको संरक्षण पनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए ।
सरकारले निजी जमिनमा रोपिएका रुख कटानको सन्दर्मभा लिएको निर्णयले आमनागरिकलाई आम्दानी दिने विरुवा रोपेर आयअर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै उनले बृक्षारोपण गरेर यसको फाइदा लिन समेत आग्रह गरेका छन् ।
मेयर आचार्यले पोखरा महानगरपालिका वडा नंम्वर २४ मा रहेको ठूली पोखरी (कश्यप ताल)को संरक्षणका लागि महानगरको तर्फबाट समेत योगदान रहने बताए । वडाको समग्र विकासका लागि वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिसंग बसेरै योजना बनाउने उनले आश्वासन दिए ।
महानगरले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा मेयर आचार्य, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालसहित जनप्रतिनिधि, महानगरका कर्मचारी र स्थानीहरुको सहभागिता थियो ।