काठमाडौं – काठमाडौं उपत्यकामा हप्तौंपछि आज (मंगलबार) देखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका छन् ।
सोमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति नमान्ने भन्दै नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर लिएर गएका गाडीलाई अवरोध गरेका हुन् । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि फोहोर विसर्जन गर्न दिनेलगायतका सहमति भएको थियो ।
उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको काठमाडौं महानगरपालिकाकी वातावरणीय विभाग प्रमुख सरिता राईले सेतोपाटीलाई बताइन्।
सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको थियो।
सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो।
तर बिहानै त्यहाँ पुगेका गाडीहरूबाट स्थानीयले फोहोर विसर्जन गर्न दिएनन्।
‘यहाँ पहिले पनि स्थानीयले फोहोर रोक्दै आएका थिए, आज पनि हामीसँग सहमति भएको छैन भन्दै अवरोध गरेका छन्,’ उनले भनिन्।