कैलाली– सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवाश शाहीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियन्ता समेत रहेका शाहीलाई अध्यक्षमा नियुक्त गरेको हो।
सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो। विकास समिति आदेशमा रंगशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति ९ सदस्यीय हुने व्यवस्था गरिएको थियो।
धनगढी मुख्य चौराहादेखि ५ किलोमिटर उत्तरपश्चिममा अवस्थित फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने यसअघि नै टुंग्गो लागिसकेको थियो। फाप्लाको पहिचानदेखि जग्गा प्राप्तिसम्म अनवरत रुपमा खटिएका शाही नेतृत्वको विकास समितिलाई उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित विभिन्न खेलका पूर्वाधारहरु निर्माणको जिम्मेवारी हुनेछ।
शाहीको नेतृत्वमा सन् २०१५ देखि नै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान छेडिएको थियो। गौचरणका रुपमा रहेको फाप्लालाई शाहीले स्तरोन्नती गर्दै सुरुमा स्थानीय लिगहरु सञ्चालन गरेका थिए। नेपालको पहिलो फ्रेन्चाइज लिग क्रिकेटका रुपमा धनगढी प्रिमियर लिग (डीपीएल)को आयोजना शाहीले फाप्लामै गराएपछि भने यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।
अध्यक्ष शाहीले सरकारलाई धन्यवाद दिदैँ सुदूरपश्मिको ड्रिम प्रोजेक्टका रहेको फाप्लालाई अघि बढाउँन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र नेतृ राणा देउवाप्रति आभार व्यक्त गरे। उनले निर्धारित समयमा रंगशाला निर्माणको कार्य सम्पन्न गराउँन आफू दिनरात नभनि कार्य गर्ने प्रतिबद्धता जनाए।
गठन आदेश अनुसार पहिलो वैठक बसेको मितिले तीन वर्षसम्म समितिको कार्यकाल रहने व्यवस्था गरिएको छ। समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणिय परिक्षण वा वातावरणिय प्रभधाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्ने लगायतका जिम्मेबारी पूरा गर्नेछ।
शाहीको अध्यक्षतामा बनेको ९ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहनेछन्। त्यसबाहेक सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष तथा नेपाल सरकारले मनोनयन गरेकी महिला सदस्यमा स्थानीय कल्पना दिवाकोटी समितिको सदस्य हुनेछन्। परियोजनाको प्रशासकीय जिम्मेवारी वहन गर्न खेलकुद मन्त्रालयले उपसचिव सरहका एकजना निजामती कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेबारी दिने आदेशमा उल्लेख छ।