अछाम– अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिन वितिसक्दा पनि उठ्न सकेको छैन। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। यहि जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन्।
आफन्तले नगरप्रमुख अम्बिका चलाउनेसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको आरोप लागाएका छन्। किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशङ्का गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ।
जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्दपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो।
मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन्। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्।
विद्यामन्दिर मावि विनायक, षोडशादेवि मावि मङ्गलसेन, अछाम बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मंगलवार पनि दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै आन्दोलन गरेका छन्। सदरमुकाम मंगलसेन विद्यार्थीहरूले पनि जिल्ला प्रशासन तथा प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन्।
आक्रोशित आफन्तले विनायक बजारमा प्रदर्शन गर्नुका साथै मध्य पहाडी लोकमार्गमा आफन्तले चक्काजाम गर्दै आएका छन्। प्रदर्शनपछि मध्य पहाडी लोकमार्ग शनिवारदेखि पूर्ण रुपमा अवरुद्ध छ।
पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले वज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कडा कारबाहीको माग गरेकी छिन्। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।