काठमाडौं — नेपाल विद्यार्थी संघले ५ महिनादेखि त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तीन दिनभित्र खोलेर नियमित रुपमा पठनपाठन नगराए अनेरास्ववियुले ताला फोड्ने चेतावनी दिएको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । त्यसपछि उत्पन्न परिस्थिति सामना गर्न आफूहरू तयार रहेको पनि अनेरास्ववियुले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षणमा नै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको अनेरास्ववियुले आरोपसमेत लगाएको छ । ‘वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द छ,’ अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’दुखद् पक्ष, यस्तो संवेदनशील विषयमा प्रेस जगत मौन छ, प्राध्यापक वर्ग डर त्रासमा छन, र विद्यार्थीहरु चिन्तित छन् ।
कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघलाई लक्षित गर्दै अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा तालाबन्दी गरिरहेको एक गैर-राजनीतिक गिरोह जसले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले गरेको आक्रमणपछि अदालतबाट माग गरेको धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्ने अभिप्रायले गरेको तालाबन्दीलाई वैधानिकता दिने काम मात्र गरेन राज्यको प्रहरी प्रशासनको उपस्थितिमा ताला लगाउने र ताला लगाउनेलाई पूर्ण सुरक्षासहित संरक्षण गर्ने काम पनि गर्यो ।’
नेविसंघले त्रिविमा लगाएको ताला गत साता नेकपा क्रान्तिकारीका कार्यकर्ताले खोलिदिएका थिए । तर नेविसंघले त्यसको भोलिपल्ट नै फेरि ताला लगाएको हो ।