काठमाडौँ — काठमाडौं जिल्लाअदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच एक व्यावसायीलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे कुरा गरेको अडियो सार्वजनिक भएको छ ।
सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गतवर्षको असोज १८ मा इच्छाराज तामाङलाई पक्राउ गरेको थियो ।
न्यायाधीश र वकिलबीच भएको घुस लेनदेनबारे न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । सो अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् ।
सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । अधिवक्ता पोखरेलले अडियोमा प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा गरेका छन् ।
यो घुसको डिल भएको समय, २०७८ पुसमा अधिवक्ता पोखरेल नेपाल बार एशोसिएसनको कोषाध्यक्ष थिए।