काठमाडौं – जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग १० करोडको घुस डिल गर्ने अधिबक्ता रुद्र प्रसाद पोखरेल विवादित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग मिलेर आफ्नै सहकर्मीमाथि जथाभावी गाली गर्थे ।
१० करोड घुस डिलकै कारण मंगलबार विहान जिल्ला अदालतका प्रमुख न्यायाधीश राजकुमार खतिवडाले सबै सहकर्मीलाई पेशीको गोला तान्न बोलाउँदा न्यायाधीश कोइरालालाई बोलाएनन् ।
प्रमुख न्यायाधीश खतिवडाले कोइराला र नेपालका बारका पूर्व कोषाध्यक्ष (कानुन व्यवसायी) रुद्र प्रसाद पोखरेलका बीचमा १० करोड लेनदेनको कुरा भएको सबै न्यायाधीशलाई जानकारी गराएका थिए। उनको विषयमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग पनि कुरा भएकोले छानबिनमा जाने कुरा पनि खतिवडाले सुनाएका थिए । न्यूज २४ टेलिभिजनले १० करोडको लेनदेनको अडियो सार्वजनिक गरेपछि न्यायाधीश कोइरालालाई मंगलबारदेखि नै मुद्दाको सुनुवाइबाट अलग गरिएको हो।
कोइराला २१ साउन २०७२ मा जिल्ला न्यायाधीश बनेका थिए। सरकारी वकिल रहेका कोइराला त्यतिबेला न्याय परिषद्का सदस्य रहेका रामप्रसाद सिटौलाको कोटाबाट जिल्ला न्यायाधीश बनेका थिए। कोइराला जिल्ला अदालत काठमाडौं आउनुअघि मोरङ, म्याग्दी लगायत जिल्ला अदालतमा थिए। उनलाई प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाले काठमाडौं जिल्ला अदालत ल्याएका हुन् ।
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो। न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ।
कोइरालाले त्यस्तो आदेश जारी गर्दा आफू बर्बाद हुने चिन्ता व्यक्त गरिरहँदा कानुन व्यवसायी पोखरेलले माथि (प्रधानन्यायाधीश राणा)बाटै मिलाउन सकिने बताएका छन् । प्रधानन्यायाधीश राणाले १ नम्बर (जिल्ला अदालतका प्रमुख न्यायाधीश)लाई अह्राउने र त्यसको सबै चाँजोपाँजो आफूले मिलाउने पोखरेलले कोइरालालाई आश्वासन दिएको अडियोमा सुनिन्छ। इच्छाराजलाई १० करोड धरौटीमा छाड्दा आफूहरुले २ करोड रुपैयाँ जति लिन सकिने विषयमा उनीहरुबीच कुराकानी हुन्छ। नेकपा एमालेनिकट कानुन व्यवसायी पोखरेलले एमाले कानुन विभागमा रहेर काम गरिसकेका छन्।