काठमाडौं – काठमाडौंमा आज मातृभाषा पत्रकारिताको अवस्था विषयक गोष्ठी सम्पन्न भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको आयोजनामा र काठमाडौं महानगरपालिकाको सहयोगमा भएको गोष्ठी बाट नेपालभाषा, मैथिली, राजवंशी, मेचे, तामाङ, लिम्बू, मगही, थारु, संस्कृत, शेर्पा, उर्दू, धिमाल, जिरेल, राजवंशी, डोटेली, चाम्लिङ, अवधी लगायतका भाषाको पत्रकारिताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।
वक्ताहरुले ती भाषाको इतिहास, पत्रकारिताको उदय, समस्या, चुनौती र भविष्यबारे कार्यक्रममा प्रस्तुति दिएका थिए। ३८ वटा भाषाको पत्रकारिता अवस्थाबारे पछि जर्नल प्रकाशित गरिनेछ ।
गोष्ठीको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मातृभाषा संरक्षण सबैको सरोकार भएको भन्दै पत्रकारिताको माध्यमबाट भाषा सँगै समुदायको कथाहरू बाहिर उजागर गर्नु पर्ने बताइन्। महानगरले आफ्नो क्षेत्र भित्र नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू गरेको र त्यो निरन्तर चल्ने भन्दै उनले आउने दिनमा मातृभाषा संरक्षणमा महानगरको सहयोग रहने बताए।
सोक्रममा डंगोलले राकेश महर्जन द्वारा लिखित आमसंचार व नेपालभाषा पत्रकारिता, नेपालभाषा स्नातकको पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको विमोचन गरेकी थिइन्। साथै स्वयम्भू बारे वृतचित्र पनि उनले सर्वोजनिक गरेको थिइन्।
कार्यक्रमको समापनमा महानगरपालिकाका निवर्तमान प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आफ्नो कार्यकालमा महानगरमा नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू गरेको भन्दै यो कार्य थप विस्तार हुनु पर्ने बताए। प्रारम्भमा कक्षा ८ सम्म पाठ्यक्रम लागू भएको भन्दै शाक्यले यसलाई १२ सम्म लागू गर्ने आफ्नो योजना रहेको भन्दै अबको नेतृत्वले पूरा गर्नमा आफू आशावादी रहेको बताए। उनले मातृभाषा संरक्षणमा महानगरले यसअघि छुट्याएको बजेट पनि अहिलेको नेतृत्वले कायम राख्नेमा आशावादी रहेको बताए।
खड्गीले पनि स्थानीय पाठ्यक्रमको निरन्तरताको लागि सँगै भाषा र संस्कृति संरक्षणको लागि आफूहरुको खबरदारी जारी रहने बताइन।