काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सम्बोधन गर्न अध्यक्ष ओलीका लागि समय लिइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनकाअनुसार ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।त्यस्तै विनियोजन विधेयक (२०७९), आर्थिक विधेयक (२०७९) राष्ट्र ऋण उठाउने विधेयक (२०७९) ऋण तथा जमानत–२५ औं संशोधन विधेयक (२०७९) बारे पनि बैठकमा छलफल हुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष (२०७८) पेश गर्नेछन्।