काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अगाडि सारेको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको छ । तर, सरुमा सत्तारुढ दलहरु संसदीय समिति गठनका लागि तयार भएका थिएनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ छलफलपछि माओवादी संसदीय छानबिन समिति बनाउन तयार भएको छ । तर, त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले संसदमा बोल्ने भन्दै माओवादी नेताहरुले एमाले नेतासँग छलफल गरेका थिए ।
तर, एमालेले शर्मालाई स्पष्टीकरण दिने अवसर नदिने र संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको हो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्रीको राजीनामा दिएपछि मात्र संसदीय छानविन समिति गठन हुने बताएका छन् ।