धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् ।
शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए। ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने । पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको लामिछानेले आरोप लगाए ।
विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै लामिछानेले भने ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस्। रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला।’
लामिछानेको पार्टीले आयोजना गरेको सुदूरपश्चिम प्रदेश भेलालाई स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका गोपाल हमालले समेत सम्बोधन गरेका थिए ।