काठमाडौं – आगामी मंसिरमा हुने आम निर्वाचनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए।
पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन्।
कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
आजको बैठकले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने बताइएको छ। सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ।