काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहयोगमा दार्चुलाका अल्लो उद्यमीहरुलाई प्रविधि सहयोग गरिएको छ ।
जिल्लामा अल्लो उद्योग संचालन गरी व्यवसाय गर्दै आएका तीन जना उद्यमीहरुलाई प्रविधि सहयोग गरिएको हो । आइतबार नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले जिल्लाका अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्नुभएको छ । उहाँले जिल्लाको महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका तीन अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गर्नुभएको हो । प्रविधि हस्तान्तरण कार्याक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले ग्रामिण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुलाई प्रवद्धन गर्नु जरुरी रहेको बताउनुभयो ।
साना, घरेलु तथा मझौला उद्योग भनेका ठूला उद्योगका निम्ति मेरुदण्ड भएको बताउँदै उहाँले सरकारले साना उद्योगहरुलाई पनि प्रोत्साहन गर्दै राष्ट्रिय उत्पादन र प्रतिष्पर्धामा जोड दिएको बताए ।
व्यापार तथा निकासी प्रवद्धन केन्द्रले करिब ७ लाख लागत बराबरका मेशिनरी सामाग्री हस्तान्तरण गरेको हो ।
उद्यमीहरुले ग्रामिण क्षेत्रमा साना उद्योग खोलेर व्यवसाय गरेको भएपनि प्रविधि नहुदाँ उत्पादन बढाउन नसकेको बताएका छन् । सरकारको प्रविधि सहयोगले व्यवसाय सञ्चालनमा सहजता हुने भन्दै उद्यमीहरु खुसी भएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू प्रमुख अतिथि रहेका थिए ।प्रविधि सहयोग कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी ,अपि हिमाल गाउँपालिका उपाध्यक्ष देवकी बोहरा लगायत विभिन्न कार्यालयका प्रमुख लगायत सुरक्षा निकायका प्रमख सहित संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।