काठमाडौं – नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरबारे भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँग सो कुरा बताएका हुन् ।
उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताएका छन् । नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले ०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको बताए ।
उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रूपमा सिट बाँडफाँड गर्ने गरी अघि बढ्नुपर्ने बताए । उनले वाम एकताका लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि बृहत् वाम एकताको सम्भावना नरहेको दाबी गरे ।