काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जित्नकै लागि आफ्नो पार्टीको एजेण्डा छाडेर गठबन्धन नगर्ने बताएका छन् । प्रगतिशिल पत्रकार संघ बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले पार्टीको सिद्धान्त र एजेन्डा छाडेर चुनाव नै जित्नका लागि गठबन्धन नगर्ने बताएका हुन । उनले राजमोले गठबन्धन सँग नाजायज माग नगर्ने र जहाँ पार्टीको आधार छ त्यहाँ आवश्यकता अनुसार एजेण्डा मिलेमा गठबन्धन गरेर अगाडी बढ्ने बताए ।
समानताका आधारमा गठबन्धन भएमा सँगै जाने र नभएमा एक्लै लड्ने अध्यक्ष केसीको भनाइ थियो । ‘चुनाव जित्नका लागि केही नेताले सवै कुरा छाडेर गठबन्धमा लागेका छन् । चुनाव जित्नकै लागि पार्टी प्रवेशसमेत गरेका छन्’, उनले भने, ‘राजमोलाई कोही नेता व्यवस्थापन गर्नुपर्ने छैन । मुख्य कुरा एजेण्डा मिल्नुप¥यो । एजेण्डा मिले भने गठबन्धन गछौं नत्र एक्लै चुनावमा होमिन्छौैं ।’
उनले गत निर्वाचन र आसन्न संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी भित्रको विमतिका बावजुद पनि नेपाली कांग्रेसलगायतका दलहरुसँग एजेण्डा मिलेमा निरन्तर सहकार्य गर्ने बताएका छन् । उनले नेकपा एमाले र अध्यक्ष केपी ओली रहुञ्जेल प्रतिगमनको बाटो रहेको हुँदा उनिहरुसँग सहकार्य नहुने बताए । ‘एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै बिमतिका बाबजुत कांग्रेससहितको पाँच दलीय गठबन्धनमा समावेश भएका छौँ’, उनले भने, ‘अहिले सम्म एजेण्डा मिलेको छ सँगै रहेका छौं ।’ केसीले कम्युनिष्ट पार्टी भए पनि संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको बताए ।
नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उनले एमालेका नेताहरूमाथि कटाक्ष गरे ।
एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको पनि उनको भनाइ थियो । ‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो,’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमाले भन्दा कांग्रेस इमानदार देखियो ।’