काठमाडौं- बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीका १३ वर्षीय पारस धनाडी चितुवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले धनाडीमाथि बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको प्रहरी प्रवक्ता जोशीले बताए। उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको बताइएको छ। धनाडीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा लगिएको छ।
बैतडीमा २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ भने ११ जना भन्दा बढी घाइते भएका छन्। यस्तै २०७४ साल यता बैतडीमा १२ चितुवा मारिएका छन्।
Facebook Comments Box