काठमाडाैं: हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिएको छ। उनलाई बयानका लागि अदालत लगिएको हो।
आइतबार बयानका निम्ति इन्स्पेक्टर शाही आफैं अदालत गएकी थिइन्।बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।
शाहीको बयान सकिएपछि थुनछेक आदेश आउने र अहिले पुनः बयान थालिएको जिल्ला अदालत पाटनका प्रवक्ता राम सजिवन महतोले बताए। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ।
भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ। उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध गत मंसिर ९ गते जिल्ला अदालत ललितपुरमा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
यस अगाडि शाहीले पक्राउ पूर्जी जारी भैसकेको अवस्थामा सारा शक्ति लगाएर पक्राउ रोकाएकी थिइन्। उनलाई गृहमन्त्रीले नै संरक्षण दिएकोमा अहिले फेरि अदालतमा सेटिङ गर्न उनको चलखेल छ।
भैंसेपाटी प्रभागको प्रमुख रहेका बेला गत ७ असोजमा उनले एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेकी थिइन्।
घटना बाहिरिएपछि निलम्बनमा परेकी उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। छानविन समितिमा समेत बयान दिन नगएकी उनी अन्ततः प्रहरी हिरासत पुगेकी थिइन्।
यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। १३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो।
त्यसैगरी अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई जनही क्रमशः २ लाख र १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको थियो।
घटनामा प्रतिवादी बनाइएका प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए। करिब एक महिनापछि शाही भने अदालतमा आफैं उपस्थित भएकी हुन्।
र, यो पनि: निलम्बित इन्स्पेक्टर बिनुकुमारी प्रहरी थुनामा, भोलि आदेश हुने
फरार इन्सपेक्टर बिनुकुमारी अदालतमा प्रकट, जालिन् त थुनामा ?