काठमाडौं – उपत्यकामा ट्राफिक प्रहरीले मोटरसाइकलमा राखिएको स्ट्याण्ड हटाउन थालेको छ । प्रचलित कानुन विपरीत मोटरसाइकलको मोडिफाई हुनेगरी मोबाइल स्ट्याण्ड राखिएको भन्दै ट्राफिक प्रहरीले मोबाइल स्ट्याण्ड हटाउने अभियानको थालनी गरेको हो ।
यस्तो अभियानमा ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म चिट काट्न थालेको छ । तर, यता यस्तो अभियानले राइडरहरु मारमा परेका छन् । लोकेसन म्यापिङको सहजताका लागि मोटरसाइकलमा राख्ने गरिएको स्ट्याण्ड हटाउँदा समस्या आएको गुनासो राइडरहरुबाट आएको छ । अझ बढी टुटल, पठाओ, जायर जस्ता राइड सेरिङ प्रयोगकर्ताहरूमा समस्या आएको बुझिएको छ ।
यसबारेमा यता ट्राफिक प्रहरीसँग बुझ्दा ऐन बमोजिम नै कम्पनीले दिएको भन्दा बढी सुविधा थप घट गर्न नपाइने हुँदा मोबाइल स्ट्याण्ड हटाउने अभियानको थालनी गरिएको जानकारी प्राप्त भएको छ । ‘ब्लु बुकको पछाडि पानामै लेखेको हुन्छ, हामीले यसअघि पनि सम्झाई बुझाई गरेका हौँ’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले भने, ‘सम्झाई बुझाई गर्दा खासै कमी आएन, त्यसपछि जरिवाना नै गर्न सुरु गरेका हौँ ।’
उनका अनुसार न्यूनतम ५ सयदेखि २ हजार रुपैयाँसम्म ठाउँको ठाउँ चिट काटेर जरिवाना गराउन सकिने र यसबाहेक आवश्यकताका आधारमा यातायात कार्यालयमा नै पठाउने सम्मको कारबाही हुनेछ । ‘हामीले ५ सयदेखि २ हजार रुपैयाँसम्मको चिट काट्ने हो, प्रकृति हेरेर यातायात पनि पठाउन सकिन्छ’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले भने, ‘यातायात पठाउँदा यातायातले ऐन अनुसार ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लगाउन सक्छ । उनले पठाओ वा अरु कुनै राइड सेयरिङ कम्पनी लक्षित र विशेष अभियान नभई यो नियमित काम नै भएको बताए ।
‘ह्याण्डिलमै स्ट्यान्ड राखेर मोबाइल राख्दा एउटा हातले मोबाइल चलाएर अर्को हातले मात्रै मोटरसाइकल हाँकेको पाइयो, यसले दुर्घटनाको जोखिम बढ्न सक्छ भनेर सम्भावित जोखिमलाई टार्नका लागि यसो गरिएको हो,’ उनले थपे, ‘कुन राइड सेयरिङले त्यसरी राख्छन्, कुन कम्पनीले त्यसरी राख्छन्, राखेका छन् भन्नेसँग हाम्रो सरोकार नै भएन ।’ बाइकमा मोबाइल स्ट्यान राख्न नपाएपछि समस्या आएको भन्दै राइडरहरुबाट गुनासो आएपछि राइड सेरिङ प्लाटफर्म पठाओले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छ ।
‘नेपाल सरकारको प्रचलित कानुन बमोजिम निर्माण भैसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरूप परिवर्तन ९मोडिफिकेसन० हो र सोही कारण बाइकमा राखिएका मोबाइल स्ट्याण्ड हटाउन भनी केही दिन अगाडि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट पठाओ नेपाललाई सूचना प्राप्त भएको थियो । प्रहरीको आदेश बमोजिम हामीले उक्त सूचना हाम्रा राइडर र फुडम्यान साथीहरूलाई गत सोमबारदेखि जानकारी गराएका छौँ । तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनी गुनासोहरू आइरहेको छ । हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ पठाओका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताएका छन् ।