काठमाडौं- निर्धारित मिति अगावै आयोजना भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न भएको दिनको पहिलो खेलमा एनआरएनएले विजयी शुरुवात गरेको हो ।
वर्षाका कारण ६ ओभरमा घटाएपछि खेल आरम्भ भएको थियो । ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका खडक बोहराले सर्वाधिक १२ रन बनाए । यसबाहेक, कप्तान राजु रिजालले ११ रन बनाउँदा वसन्त खत्रीले १० रन जोडे पनि जितका लागि पर्याप्त भएन ।
एनआरएनएका आशिष पोखरेल र दीपक क्षेत्रीले समान तीन/तीन विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको एनआरएनएका लागि सागर पुनले बिस्फोट पारी खेले । निर्धारित ६ ओभरमा चार विकेट गुमाएर ७४ रनको योगफल खडा गरेको थियो । एनआरएनएका सागर पुनले सर्वाधिक ४६ रन बनाए । सागरले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै सुनम गौतमले २४ रनको पारी खेल्दा अन्य खेलाडीले भने राम्रो स्कोर गर्न सकेनन् । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिए ।
खेलकुदअन्तर्गत आजै मुलपानी क्रिकेट रंगशालामा हुने तय भएको गण्डकी प्रदेश र मधेस प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल टस पनि नभई रद्ध भएको छ भने त्रिवि मैदानमा तय भएको दोस्रो खेल पनि भिजेको मैदानका कारण रद्ध भयो । प्रतियोगितामा शुक्रवार पनि चार खेल हुँदैछन् । त्रिवि मैदानमा एनआरएन र एपिएफ तथा सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबीच खेल हुनेछ भने मूलपानीमा नेपाल पुलिस र मधेस प्रदेश तथा दोस्रो खेलमा त्रिभूवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।