काठमाडौं – चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।
नेपालको चार दिने भ्रमणमा रहेका चान्सुले संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा सापकोटासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
चान्सु सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् ।
मंगलबार अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने छन् । सोही दिन उनी दक्षिण कोरियातर्फ लाग्ने भएका छन् ।