दार्चुला – महाकाली नगरपालिकाले बाढीपहिरो पीडितलाई नगरपालिकाको तर्फबाट राहत दिने घोषणा गरेको छ ।
सोमबार (आज) नगरकार्यपालिकाको आकस्मिक बैठक बसी लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए ।
उनका अनुसार मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराइनेछ । महाकालीमा दुई जना मृतकको शव फेला परेको छ भने १० जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरु जीवित भेटिने सम्भावना नरहेको उद्धारमा खटिएकाहरु बताउछन् ।
बेपत्ताहरु नभेटिएमा प्रहरी प्रशासनको सिफारिसमा गृह मन्त्रालयले मृतक घोषणा गर्ने व्यवस्था छ । सरकारले बेपत्तालाई मृतक घोषणा गरेलगत्तै उनिहरुको परिवारलाई समेत राहत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
यस्तै पूर्ण रुपमा घर क्षति भएको परिवारलाई प्रति परिवार ५० हजार रुपैया र जोखिममा रहेका घरपरिवारलाई तत्काल १५ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख नरसिंह चैसीरले बताए ।
पूर्ण रुपमा क्षति भएको घट्ट पूनर्निमाणको प्रथम किस्ता ५० हजार दिने पनि नगरकार्यपालिकाले निर्णय गरेको छ ।