काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रको कार्यालय रानीबारीमा २०७९ असोज १ गते शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक सिंह एवम् उक्त केन्द्रकी अध्यक्ष श्रीमती कुशुम लता सिंहले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्याउने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सिर्जना थापालाई सम्मानपत्र प्रदान तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी सदस्य श्रीमती जुनु श्रेष्ठ र श्रीमती कुसुम अधिकारीलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
प्रहरी महानिरीक्षक सिंहले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज र केन्द्रले आयोजना गर्ने विविध साँगीतिक कार्यक्रममा सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जलाई प्रशंसापत्र प्रदान गरे । उनले केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०७९’ को विमोचन समेत गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले लागूऔषध दुर्व्यसनीको उपचार र पुनर्स्थापना तथा लागूऔषधविरूद्ध सचेतनामार्फत् सामाजिक सुधार र सामाजिक सेवामा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।
२०५४ सालमा स्थापना भई १०१ जना महिला सहित ५ हजार ६९८ जना लागूऔषध सेवनकर्तालाई परामर्श र उपचारद्वारा असल नागरिकमा रुपान्तरण गरी नयाँ जीवन दिन यस केन्द्रले तय गरेको सफल यात्राको निम्ति उनले समस्त केन्द्र परिवारलाई बधाई दिए ।
समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती कुशुम लता सिंहले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरे।
उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष सिंहले हरेक दृष्टिकोणबाट चुनौतिपूर्ण बन्दै गएको लागूऔषध दुर्व्यसनीको समस्या समाधान गर्न लागूऔषध प्रयोगकर्ताहरूको उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा केन्द्र दत्तचित्त भई लागेको उल्लेख गरे ।
केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरु र नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी सहायक निरीक्षक राम बहादुर भुजेलले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा।आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।