काठमाडौँ – नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ ।
सोमबार नै सोलुखुम्बुमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले हस्ताक्षर नगरेसम्म बन्दसूचीले वैधानिकता नपाउने भन्दै फर्किन हतार भएको प्रचण्डले बताएका थिए ।
समानुपातिक उम्मेदवारको सूची टुङ्ग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए ।
अब प्रचण्ड फर्केपछि साढे तीनबजेतिर मात्रै पदाधिकारी बैठक बस्ने छ । समानुपातिक सूची मिलाउन माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।
पदाधिकारी बैठकले सूची टुङ्ग्याएपछि माओवादी त्यसलाई बुझाउन आयोग जाने भएको छ ।