काठमाण्डाै – जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेङ्गुका बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेङ्गु सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको हो । सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेङ्गुका ४० बिरामी फेला परेका छन् ।
डेङ्गु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सङ्क्रमण हुने गर्दछ । निर्देशनालयका डेङ्गु नियन्त्रण स्रोत व्यक्ति एवं भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताए ।
“कतिपय फेला परेका बिरामी तराईबाटै सङ्क्रमित भएर गएका छन् भने कतिपय त्यही लामखुट्टेको टोकाइबाट सङ्क्रमित भएको पाइएको छ”, उनले भने, “दुई वर्षअघि नै मुगुको खत्याडमा लामखुट्टेका लार्भा भेटिनाका साथै डेङ्गुका बिरामीको पहिचान भएको थियो, हिमाली भेगमा लामखुट्टेको जीवनचक्र अनुकूल हुँदै गएपछि यसको सङ्क्रमण पनि बढ्दै गएको हो ।” हिमाली भेगमा खोला नदी किनारका बस्तीमा सङ्क्रमण देखापरेको छ ।