काठमाण्डौ – हिजो दिनभरी लगातार झरी परे पनि काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानदेखि झरी रोकिएको छ ।
पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बिहान घाम लागे पनि दिउँसो पछि भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा ठूलो पानी पर्ने मौसमविद् सञ्जिब अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा भोलिसम्म नै ठूलो वर्षाको सम्भावना छ । मौसमविद् अधिकारीका अनुसार काठमाण्डौमा भने हिजो अस्तिको जस्तो पानी पर्ने देखिएको छैन ।
हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । केही दिनयता लगातारजसो पानी परेको छ । यो वर्षको दशैँ झरीमय हुँदा यात्रुले सास्ती पाएका छन् ।