काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीबारे मंगलबारभित्र प्रस्टीकरण दिनुपर्ने भएको छ। सोमबार दउवाको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उम्मेदवार नेपाली काँग्रेस बिपीका कर्णबहादुर मल्लले उजुरी जाहेर गरेका हुन्।
मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै उजुरी पेस गरेका हुन्। देउवाको नागरिकतामा जन्ममिति विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। देउवाको मनोनयन खारिज हुनुपर्ने मल्लको माग छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले देउवालाई सो उजुरीबारे प्रस्ट पार्न समय दिइएको छ। देउवाका लागि उजुरीउपर स्पष्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए।