काठमाण्डाै – झण्डै एक हप्ता लगातार परेको पानीले तराई तथा मध्य पहाडमा धानबालीमा क्षति गरेको छ । मुख्यगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आएको बाढी र डुबानबाट धानबालीमा क्षति पुगेको छ । वर्षभरि खाने र घरव्यवहार धान्ने अन्न धान डुबानमा परेपछि किसान चिन्तामा छन् ।
प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानसहित बाढीले अरु बालीमा पनि क्षति गरेको छ । यसले गर्दा खाद्य सुरक्षामा असर पार्ने चिन्ता बढेको छ । अघिल्लो वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताकाे बेमौसमी वर्षाले धानबालीमा क्षति गरेको थियो । अहिले पनि विभिन्न जिल्लामा क्षति भएको छ ।
बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन किसानको माग छ । राष्ट्रिय किसान आयोगले तत्काल क्षतिको विवरण सङ्कलन गर्न र पीडित किसानलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष डा. प्रेम दङ्गालले बाढीपहिरोले कृषि तथा कृषिजन्य उत्पादनमा ठूलो क्षति पुगेको बताउनुभयो ।
क्षतिको वास्तविक विवरण सङ्कलन गरी किसानलाई राहत र पुनर्स्थापनाका लागि विभिन्न अल्पकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम घोषणा गर्न पनि उहाँको माग छ । बाढी र डुबानमा परेको धान खेतमै उम्रिन थालेको छ । भित्र्याउने बेला भएको धानमा अझ धेरै क्षति छ ।
विज्ञले तत्काल धानखेतमा पानीकाे उचित निकास व्यवस्था गर्न सुझाव दिएका छन् । यसअघि धान काटेर भिजेको भए बाला छिटो सुकाउन र चुटिसकेको भए धानलाई हावा आउने ठाउँमा फिजाएर बेलाबेलामा चलाउन विज्ञको आग्रह छ ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले कृषि बुलेटिन नै निकालेर पाकिसकेको धानबालीलाई मौसम सफा भइ पानी पर्न रोकिएको ३/४ दिनपछि मात्र काट्न किसानलाई आग्रह गरेको छ।