धनगढी – लगातारको झरीका कारण सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा पाकेको धान खेतमै उम्रन थालेको छ। गत बुधबारदेखि लगातार ६ दिनसम्म परेको पानीले काट्न तयार भएको र झरीपछि ढलेको धान खेतमै उम्रन थालेको हो ।
धनगढी उपमहानगरपालिकासहित स्थानीय तहले क्षतिको विवरण संकलनमा काम गरिरहेको बताएका छन्। पालिकाहरूले वडा कार्यालमार्फत क्षतिको विवरण संकलन गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बुधबारदेखि किसानको खेतमा वर्षाले गरेको क्षतिको विवरण संकल्प थालिएको बताएका छन्।
वर्षापछि खेतहरूमा पानी जमेकाले अझै एक हप्तासम्म धान काट्ने अवस्था नरहेको किसानहरूले बताएका छन्। खेतमा जमेको पानी नसुक्दै फेरि वर्षा भए धान बालीमा पूर्ण क्षति हुने भन्दै किसान चिन्तित भएका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का किसान मेखप्रसाद शर्माले लडेको धान कुहिएको र पाकेको धान बालामा नै उम्रन थालेकोले किसान चिन्तित भएको बताएका छन्।