काठमाण्डाै – ललितपुरको बुङ्गमतीमा आज बुङ्ग महोत्सव हुँदैछ । मौलिक कला, संस्कृति, सम्पदा, खाना, भेषभुषा लगायतलाई समेटेर महोत्सव हुनलागेको हो ।
बुङ्गमतीको सांस्कृतिक सम्पदा र संस्कृतिको उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको ‘इकोज इन द भ्याली’ ले जनाएको छ ।
संस्थाका अनुसार युरोपियन युनियनको सहयोगमा स्वीच एसिया कार्यक्रम अन्तर्गत यूएन ह्याबिट्याट, लुमन्ती, सीआईयूडी, आईएचएस सभामार्फत सञ्चालित पर्य–सम्पदा परियोजना अन्तर्गत संस्थाले सहकार्य गरेर महोत्सव गर्न लागेको हो ।
आज बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने महोत्सवमा हस्तकला, काष्ठकलाको प्रदर्शनी, नेवारी खाना पाककला, वास्तुकलाको प्रदर्शन, परम्परागत नेवारी तथा रञ्जना लिपि लेखन, परम्परागत खेल, बालबालिकाका लागि कथा कथन, साङ्गीतिक प्रस्तुतिहरुसँगै कार्यशालाहरु समेत हुनेछन् ।
महोत्सव अन्तर्गत स्थानीय गाइडको सहायतामा निःशुल्क बुङ्गमती भ्रमण समेत गराइनेछ। महोत्सवमा ५ हजार दर्शकहरु सहभागी हुने आयोजकको अनुमान छ।