धनगढी – मंसिर–४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यति बेला सबै राजनितिक दलका नेताहरु आ-आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा व्यस्त छन्। देशै भरि चुनावी प्रचारप्रसार तीब्र रुपले अघि बढिरहँदाप्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका सुदूरपश्चिममा भने अबको मुख्यमन्त्री को हुन्छ ? भन्ने चर्चा सुरु भएको छ।
विशेष गरी चुनावमा होमिएका राजनीतिक दलहरु पार्टीभित्रै मुख्यमन्त्रीको उम्मेदवार खोज्नतर्फ लागी परेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १६ र प्रदेशसभाका ३२ सिटका लागि प्रत्येक्ष निर्वाचन हुँदैछ।
सत्ता गठबन्धनको नेतृत्व गरीरहेको नेपाली काँग्रेसले अब सुदूरपश्चिम सरकारको नेतृत्व आफूले गर्ने दाबी गरिरहेको छ। जसका लागि पार्टी भित्र विभिन्न उम्मेदवार यसकै कसरतमा समेत लागेका छन्। चुनावपछि अपेक्षित नतिजा आए मुख्यमन्त्रीमा आफूपनि आकांक्षी भएको काँग्रेसका नेता डा- रणबहादुर रावलले बताए।
सत्ता गठबन्धनकै दोस्रो ठुलो दल माओवादी केन्द्र पनि सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा छ। यसका लागि पार्टीले प्रदेश इन्चार्जसमेत रहेका माओवादी नेता खगराज भट्टलाई अघि सारेको छ। उनलाई यसपटक गठबन्धनले साँझा उम्मेदवार बनाएको छ। डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका भट्ट पनि मुख्यमन्त्रीकै कसरतमा छन्। सत्ता गठबन्धनमै जोडिएको एकीकृत समाजवादीले भने अपेक्षाअनुसार प्रदेशमा सिट नै पाएको छैन। जसकारण उक्त पार्टी भित्र मुख्यमन्त्रीको चर्चा खासै छैन।
सत्ता गठबन्धनको सामान गर्नका लागि एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले भने अहिले नै मुख्यमन्त्रीको उम्मेदवार तय गरेको छैन। पार्टीका अधिकांश उम्मेदवार जिम्मेवारी सम्हाल्न तयार रहेको दाबी एमालेको छ।