काठमाडौं – ‘मेरो सामुन्ने मेरो पार्टी र विचार जोगाउनुपर्ने चुनौती छ । केही समय यता मेरो राजनीतिक भविष्यलाई समाप्त पार्ने देशी–विदेशी षड्यन्त्रहरु भइरहेका छन् । विगतमा मैले राष्ट्रियताका पक्षमा लिएको अडानका कारणले मलाई राजनीतिक रुपमा समाप्त पार्न चाहने प्रयासहरुलाई परास्त गर्नुपर्ने आवश्यकता छ, जुन वास्तविकतालाई दृष्टिगत गर्दै मैले राष्ट्रवादी पार्टीको रुपमा पहिचान बनाएको नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हुँ’, राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो फेसबुक पेजमा राखेको भिडियो सन्देशमा व्यक्त गरेका विचार हुन् यी ।
अध्यक्ष थापाले आफ्नो पार्टी र विचार जोगाउनकै लागि नेकपा एमालेको चुनाव चिह्नबाट चुनाव लड्न लागेको प्रस्ट्याउन खोजेका छन् । तर थापाले भनेजस्तो एमालेको चुनाव चिह्नबाट चुनाव लडेर यदि उनी निर्वाचित भइहाले भने पनि राप्रपा नेपालको दलीय अस्तित्व जोगिन्छ त ? सामान्य नागरिक र स्वयं थापाका नेता कार्यकर्ताहरुले पनि यो प्रश्न गर्नु स्वाभाविक हो ।किनभने सूर्य चिह्नबाट निर्वाचित भएपछि निर्वाचन आयोगको आधिकारिक रेकर्डमा थापा एमालेकै सांसद दरिन्छन् । अर्थात् संसदमा उनले आफूले नेतृत्व गरेको दलको भाषा, विचार बोल्न र आफ्नो दलको प्रतिनिधित्व गर्न पाउँदैनन् ।
यस्तो अवस्थामा उनको पार्टीको साइनबोर्ड त कायमै रहला तर जनताका मुद्दा उठाउने स्थलमै पार्टीको प्रतिनिधित्व र विचार व्यक्त गर्न नपाउने भएपछि उनी निर्वाचित हुनु र नहुनुमा राप्रपा नेपालका कार्यकर्ताका लागि खासै अर्थ राख्दैन । किनकि, उनी निर्वाचित हुँदा संसदमा ती कार्यकर्ताको विचार र भावनालाई भन्दा एमालेको विचार र भावनालाई नै उनले संसदमा प्रतिनिधित्व गर्नुपर्छ ।हुन त नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले दुई वा दुई भन्दा बढी दल आपसमा साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुनसक्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार मंसिर ४ मा हुने आम निर्वाचनमा थापा नेतृत्वको पार्टीसहित अन्य साना राजनीतिक दलहरु पनि अर्कै पार्टीको चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् ।
यसरी अर्काे पार्टीको चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिनेमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि छ । भट्टराई नेतृत्वको पार्टीबाट प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार उम्मेदवार सत्ता गठबन्धनको साथमा माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् ।
नेसपाबाट प्रतिनिधिसभातर्फ महिन्द्र राय यादव सर्लाही–२ मा र मानुषी यमी भट्टराई काठमाडौं–७ बाट उम्मेदवार बनेका छन्, जसले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर सत्तारुढ गठबन्धनको साथसहित प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै गंगानारायण श्रेष्ठ सिन्धुली–२(ख), फणीन्द्र देवकोटा गोरखा–२(क), चिनक कुर्मी नवलपरासी (पश्चिम)–२(क) र सुनिल साह सर्लाही–२(क) बाट प्रदेशसभामा सो पार्टीका तर्फबाट उम्मेदवार बनेका छन्, जसले नेकपा माओवादी केन्द्रकै चुनावचिह्न लिएर प्रतिस्पर्धा गर्दैछन् । उनीहरु सवै निर्वाचित भए पनि माओवादीकै सांसद हुनेछन् ।
थापा र भट्टराई नेतृत्वको पार्टीबाहेक नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि यो निर्वाचनमा अर्कै पार्टीको चुनाव चिह्नमा निर्वाचन लड्दैछन् । ढकाल भने प्रत्यक्षतर्फ नभइ एमालेको समानुपातिकतर्फको उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगका अनुसार जुन निर्वाचन चिह्नबाट निर्वाचन लडेर जो व्यक्ति निर्वाचित हुन्छ, ऊ सोही पार्टीको हुनेछ ।
त्यसो त थापा, भट्टराई र ढकालको पार्टीमात्रै होइन, अन्य ठुला राजनीतिक दलहरु पनि चुनावी तालमेल गरेर निर्वाचनमा नगएका होइनन् । तर अन्य ठुला दल आफ्नो हैसियत बढाउन साना दलसँग चुनावी तालमेल गरिरहँदा केही साना दल आफ्नो अस्तित्व रक्षाका लागि, केही दलका नेता आफ्नो व्यक्तिगत अभिष्ट पूरा गर्न तालमेलमा उद्यत भएको देखिन्छ ।
झापासहित केही निर्वाचन क्षेत्रमा एमाले र राप्रपाबीच तालमेल भएको छ । यस्तै, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीले पनि सीमित सिटमा एमालेसँग तालमेल गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपाले पनि सत्तारुढ गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको छ ।
एमालेसँग राप्रपाले प्रतिनिधिसभातर्फ तीन सिट, जसपाले १७ र जनता प्रगतिशिल पार्टीले सिटमा तालमेल गरेको छ । यी तीन वटै दलले एमालेसँग तालमेल गरे पनि आफ्नै निर्वाचन चिह्न लिएर प्रतिस्पर्धा गर्दैछन् ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाबीच पनि चुनावी तालमेल नभएको होइन । यी सबै दलले आफूले उम्मेदवारी दिने सिटमा आफ्नै पार्टीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दैछन् । यसरी आफ्नै चुनाव चिह्न लिँदा संसदभित्र आफ्नै दलको पहिचान र प्रतिनिधित्व हुन्छ तर तालमेलका लागि वा व्यक्तिगत स्वार्थका लागि अन्य दलको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा सम्बन्धित दलकै एक सांसदका रुपमा मात्र संसदमा सीमित रहनुपर्ने हुन्छ ।