काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागमा आज शुक्रबार व्यापक सरुवा र बढुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा आज डीएसपीबाट एसपीमा बढुवा र केही एसएसपीहरुको एकैलटमा सरुवा गरिएको हो।
स्रोतका अनुसार डीएसपीबाट बढुवा हुनेमा उमेश पान्डे, हिरन्य कुँवर, महेश बोहरा, सरोज निरौला र सन्जय मन्डल रहेका छन्।
यस्तै आजै एसएसपी दर्जाको पनि सरुवा गरिएको बताइएको छ। जसअनुसार सुदूरपश्चिमका निमित्त प्रमुखसमेत रहेका एसएसपी नवीन अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलर बनाएर पठाइएको छ। त्यहाँका राजन उप्रेती विभागमा तानिएका छन्।
यस अगाडि सुदूरपश्चिमबाट डीआईजी किशोर श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय तानेर निमित्तको रुपमा अधिकारीलाई सुदूरपश्चिम पठाइएको थियो। तर उनी पनि ३ महिना टिकेनन्।
यस्तै स्रोतले बताएअनुसार एसएसपी पप्पु शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभागमा पुगेका छन् भने एसएसपी नरेश शाहलाई विभागबाट एअरपोर्ट पठाइएको छ। त्यस्तै एसएसपी भुमी पाठक ललितपुरबाट विभाग पुग्दा रिबेन गच्छदार विभागबाट काठमाडौ जिल्ला पुगेका छन्।
यस्तै एसएसपी रमेश चन्द्र यादव सुरक्षा परिषद्बाट ललितपुर पुगेकोमा विकास पान्डेलाई काठमाडौबाट विभागमा सरुवा गरिएको छ भने उर्मिला ढुंगाना पनि सरुवा भएर विभागमा पुगेकी छन्।