काठमाडौं: नेपाल प्रहरीका सहायक निरीक्षक (असई) विरोध खतिवडाको मृत्यु भएको छ। सुनसरीको दुहबीमा पिकअप दुर्घटना हुँदा असई खतिवडाको मृत्यु भएको हो।
त्यस्तै दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो।
इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नपा-८ राजाबासका ३० वर्षका खतिवडाको मृत्यु भएको जानकारी दिए।
टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर भएका खतिवडाको विराट टिचिङ अस्पताल बूढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै चालक उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने वर्ष ३८को सुरेश कार्की टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ।
चालकको छोरी वर्ष १४ की रोजिना कार्कीको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ।