धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना भयो। दुर्घटनामा बाजुराका एक स्वास्थ्यकर्मीले अकालमै ज्यन गुमाए। उनी बाजुराबाट सेवाकालिन तालिमको सिलसिलामा धनगढी झरेका थिए। तर तालिमकै दौरान धनगढीमा दुर्घटना भयो र उनी अकालमै बिते।
धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै बिहीबार ६ लेन सडकखण्डमा दुर्घटना भएको थियो। सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा बाजुराको बडिमालिका नगरपालिका–७ का ३० वर्षीय धर्म खत्रीको मृत्यु भएको हो।
खत्री सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकलमा सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए। गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो।
खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक थिए। संयोगको कुरा त के छ भने खत्रीले दुर्घटनाको दुई दिनअघि आफ्नो टिकटक अकाउन्टमा आफ्नो ठूलो दुर्घटना होस् भन्दै मोटरसाइकलमा सवार भिडियो समेत हालेको पाइएको छ।
‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहदा मलाई हस्पिटल पुगाउने जिम्मा तिमीलाई दिइयोस् अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी मैले हजुरको मान्छे बचाउन सकिन तब तिमीलाई मेरो मायाको आभास हुुनेछ,’ खत्रीले भिडियो पोष्ट गरेका छन्।
उक्त मोटरसाइकलमै सवार डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छन्। मुख र पेटमा चोट लागेकी थापाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। पछाडिबाट ठक्कर दिने अर्काे मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शाहलाई दुर्घटनामा परेका दुवै मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।