काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनले सोमबार काठमाडौंमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको भन्दै सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको बताएका हुन् । उनले कांग्रेसले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव आवाज उठाउदै आएको धारणा राखे । प्रेस स्वतन्त्रता नभएको देशमा प्रजातन्त्रको सुदृढिकरण हुन नसक्ने उनको भनाइ छ ।
देउवाले आफ्नो प्रतिनिधि छान्न पाउने जनताको अधिकारलाई थप बलियो बनाउन आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने बताए । उनले संविधानमा उल्लेख जनताको अधिकारको ग्यारेन्टी गर्न सरकारमा बस्नेहरु पनि गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधान रक्षाको लागि गठबन्धन आवश्यक भएको बताए । उनले मुलुकलाई अघि बढाउनका लािग कांग्रेस नेतृत्वको सरकार बनाउन मंसिर ४ को निर्वाचनलाई अवसरको रुपमा लिएको धारणा राखे ।
महतले गठबन्धनलाई समान प्रतिबद्धताको साथ अघि बढाउनुपर्नेमा जोड दिए ।