कञ्चनपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बितेको पाँच वर्षमा नेकपा एमालेले जनतालाई विकासका नाउँमा गफ मात्रै दिएको आरोप लगाएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार रहेका नेता लेखकले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका गलत क्रियाकलापका विरुद्ध गठबन्धन लडिरहेको बताए।
‘गएको निर्वाचनपछि ओली जी प्रधानमन्त्री भएपछि संविधान भत्काउने र अहिलेको व्यवस्था कमजोर बनाउने काम गर्नुभयो,’ नेता लेखकले मंगलबार दोधारा चादँनीमा घरदैलो कार्यक्रममा बोल्दै भने, ‘ओली जीले घरघरमा पुर्याउँछुँ भनेको ग्याँसको पाइप दोधारा चादँनीमा तपाईहरु कतिको घरमा पुग्यो ?”
समुन्द्र नभएको मुलुकमा पानी जहाज ल्याउनेदेखि चीनबाट रेल ल्याउनेसम्मका गफ एमालेले दिएको लेखकको आरोप थियो। ‘बितेको पाँच वर्षमा विकासका कुनै काम यहाँ भएको भए मलाई देखाउनुहोस्,’ उनले भने, ‘कञ्चनपुरलगायत सुदूरपश्चिममा हामीले गरेको विकासका हिसाब हामी दिन सक्छौँ।’ विगतका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला र आफूहरु मन्त्री, सांसद भएका बेला विकास भएको उनको दाबी थियो।
त्यसैगरी चुनावी घरदैलो कार्यक्रममा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नं.३ ‘ख’ बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका उम्मेदवार बेलबहादुर रानाले यहाँबाट निर्वाचन जित्ने एमालेका नेताहरुले कुनै काम नगरेको जिकिर गरे। ‘यहाँबाट पाँच वर्षमा दुई जना एमालेबाट माननीय भए तर काम सिन्को भाँचेनन्,’ रानाले भने,’हामी चुनाव जितेर फर्केर नआउने पार्टीका नेता होइनौ, पराजित हुँदा होस् वा जित्दा घरदैलोमा आएकै छौँ।’
आफू प्रदेशसभाको पाँच दलको साँझा उम्मेदवार भएको बताउँदै रानाले महाकालीमा झोलुङ्गे पुल, पक्की पुलदेखि नदी कटान नियन्त्रण लगायतका विकास गर्ने पार्टी कांग्रेस नै रहेको बताए।