आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दार्चुलामा कात्तिक १८ गतेदेखि मंसिर १ गते सम्म मतदाता शिक्षा सञ्चालन हुने भएको छ । सोमबार हिजो जिल्ला स्तरिय मतदाता शिक्षा प्रचारप्रसार समितिको वैठकले कात्तिक १८ गते देखि १५ दिनसम्म मतदाता शिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । निर्वाचनमा कसरी मतदान गर्ने भन्ने बिषयमा सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको समन्वय समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो ।
उनका अनुसार निर्वाचन आयोगले बनाएको मापदण्ड अनुसार स्थानीय तहलाई मतदाता शिक्षा सञ्चालनको जिम्मेबारी दिईएको छ । स्थानीय तहकै स्रोत साधन र जनशक्ति परिचालन हुनेगरी मतदाता शिक्षा सञ्चालन गर्नुपर्ने कार्यविधि निर्वाचन आयोगले बताएको छ । कम्तिमा एसएली पास गरेको महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि परिचालन गर्ने र विद्यालयका प्रधानाध्यापकहरुले त्यसको अनुगमन गर्ने विधि बनाईएको छ ।
यसपटकको निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरु मात्रै उपलव्ध गराउने जनाएको छ । धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको आयोगले जनाएको छ । साथै मतदाता शिक्षा प्रचारप्रसारमा खटिने स्वयम््सेवकलाई संघिय मामिला तथा सामान्य प्रशासनले गरेको पत्रचार अनुसार स्थानिय तहले न्युनतम १० हजार भत्ता दिन पत्राचार गर्ने निर्णय समेत गरेको छ । मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सवैले सहयोग गर्न निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।