काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुने गरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छिन् ।
शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरू वातावरणमैत्री बनाउन आग्रह गरिन् ।
मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् । राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन् । उनले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याइन् ।
राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । उनले धार्मिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै भावी पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने बताइन् ।
ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन् ।
मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा स्थलमार्ग हुँदै व्यापार बिस्तारको नयाँ सम्भावना खोल्ने बताइन् ।