दार्चुला – निर्वाचन सुरक्षाका लागि दार्चुलाबाट तीन जिल्लामा सशस्त्र प्रहरी खटिएको छ ।
अगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षा गर्नका लागि भन्दै दार्चुलाबाट विभिन्न जिल्लाका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ ।
केन्द्रीय निर्वाचन सुरक्षा नीति अनुसार बैतडी, बझाङ र अछामको निर्वाचन सुरक्षाका लागि दार्चुलाबाट सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर विष्टले जानकारी दिए । दार्चुलाको निर्वाचन सुरक्षामा खटिने जनशक्ती यथावत राखेर बाकी जनशक्ती तिन जिल्लाहरुमा पठाइएको उहाले बताए।
४४ नम्बर गण दार्चुलाबाट आज विहानै टोली सम्बन्धित जिल्लाका लागि हिडेको बताइएको छ । केही दिन पहिले पनि दार्चुलाबाट बझाङका लागि सशस्त्र प्रहरी पठाइएको थियो । निर्वाचन सुरक्षामा खटिने सशस्त्र प्रहरी टोलीलाई गणपति विष्टले निर्वाचनमा खटिएर भयरहित ढंगबाट निर्वाचन सम्पन्न गर्न निर्देशन गर्नु भएको छ । विभिन्न जिल्लामा खटिएको टोली निर्वाचन गराएर फिर्ता हुने बताइएको छ ।