धनगढी – मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा एक हजार १६१ मतदानस्थल कायम गरिएको छ। निर्वाचन सुरक्षालाई लक्षित गर्दै मतदानका लागि कायम गरिएका मतदान केन्द्र र मतदानस्थललाई तीन भागमा वर्गीकरण गरिएको छ।
प्रदेशका नौवटै जिल्लाभित्र गरी तीन सय ५२ मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रको रुपमा वर्गीकरण गरेर सोहीअनुसारको सुरक्षा प्रदान गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरिक्षक भोलाबहादुर रावलले जानकारी दिएका छन् ।
मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलताको आधारमा वर्गीकरण गरेर संवेदनशाीलताकै आधारमा सुरक्षा बढाउने तथा सतर्कता अपनाउने गरी काम गरिएको रावलले बताए ।
प्रदेशभित्र ४०४ मतदानस्थल संवेदनशील र ४०५ सामान्य गरी वर्गीकरण गरिएको छ। सबैभन्दा बढि कैलालीका २३७ मतदानस्थलमध्ये ५३ अति संवेदनशील, १३१ संवेदनशील र ५३ सामान्य अवस्थामा गरेर मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको छ।
मतदान केन्द्र तथा मतदानस्थलको गत विगतको राजनीतिक अवस्था, सुरक्षा चुनौति लगायतका आधारमा संवेनदशील, अति संवेदनशील र सामान्य गरी वर्गीकरणकै आधारमा सुरक्षा सतर्कता बढाइने योजना बनाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
त्यस्तै प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा ६६ अति संवेदनशील, २६ संवेदनशील र ४० सामान्य अवस्था गरी मतदानस्थलको वर्गीकरण गरिएको छ। जिल्लामा १३२ मतदानस्थल छन्। त्यस्तै बाजुराका ७० मतदान स्थलमध्ये ४३ अति संवेदनशील, २३ संवेदनशील र चार सामान्य छन्। बझाङ्गका १३५ मतदानस्थलमध्ये ५६ अति संवेदनशील, ५८ संवेदनशील र ७६ सामान्य छन्।
यसैगरी डोटीमा अति संवेदनशील ९, संवेदनशील ३० र सामान्य ७६ गरी ११५ मतदानस्थल कायम गरिएको छ। अछामका १३० मतदानस्थलमध्ये अति संवेदनशील ६०, संवेदनशील ५० र सामान्य २० रहेका छन्। त्यस्तै बैतडीका १२९ मतदानस्थलमध्ये ३१ अति संवेदनशील, ३४ संवेदनशील र ६४ सामान्य छन्। त्यस्तै दार्चुलामा अति संवेदनशील ११, संवेदनशील ११ र सामान्य ९० गरी ११२ मतदानस्थल छन्।
त्यस्तै डडेल्धुरामा १ सय १ मतदानस्थलमध्ये २३ अति संवेदनशील, ४१ अति संवेदनशील र ३७ सामान्य मतदानस्थल कायम गरिएको छ । कुल दुई हजार १४६ मतदान केन्द्र कायम गरिएको सुदूरपश्चिममा अति संवेदनशील ७१०, संवेदनशील ७७८ र सामान्य ६५८ छन्।