धनगढी – सुदूरपश्चिमको १ जिल्ला बाहेक सबै ठाउँमा मतगणना जारी छ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन्। यो समाचार तयार पार्दासम्म कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि र प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु अगाडि छन्।
त्यस्तै कैलाली २ मा भने प्रतिनिधि सभामा माओवादीका उम्मेदवार अग्र स्थानमा छन्। तर, प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु अगाडि छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर अगाडि छन्। उक्त निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यमा गठबन्धनका दीर्घ सोराडी र प्रकाश बम अगाडि छन्।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्त अगाडि छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा एमालेका उम्मेदवार नेपालु चौधरी अगाडि छन्। प्रदेश सभा २ मा काँग्रेसका उम्मेदवार प्रकाश देउवा अगाडि छन्।
त्यस्तै, कञ्चनपुर–१ मा नेकपा एमाले र कञ्चनपुर २ तथा ३ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन्। कञ्चनपुर २ नेपाली कांग्रेसका रमेश लेखक र ३ मा एनपी साउँदले अग्रता लिएका छन्। डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति विजयी भइसकेका छन्।
अछाम–१ नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कँवर विजयी भएका छन्। अछाम–२ नेपाली कांग्रेस अगाडि देखिएको छ।
त्यस्तै डोटी प्रतिनिधि सभामा एकीकृत समाजवादी अगाडि छ। यस्तै अहिलेसम्मको मतपरिणाम हेर्दा बैतडीमा नेकपा एमाले र दार्चुलामा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ। यस्तै बझाङमा समाजवादी अगाडि छ। बाजुरामा मगतणना सुरु भएको छैन्।