काठमाडौँ: फरार प्रतिवादी रहेका नेपाल प्रहरीका इन्सपेक्टर कार्यरत नै रहेको खुलेपछि समातिएका छन्। हिजो बहालवाल रहेकै अवस्थामा इन्स्पेक्टर फेला परेका हुन्।
स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार सूचीमा रहेको भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ।
सहकारीसम्बन्धी मुद्दामा फरार रहेको भेटिएपछि अकौलियालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–५ घर भएका इन्स्पेक्टर अकौलियाविरुद्ध मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको कसुरमा प्रहरी वृत्त स्वयम्भूमा २०८० भदौमा जाहेरी दर्ता भएको थियो।
अनुसन्धान सकेर प्रहरीले २०८१ साउनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। मुद्दा अदालतमा पेस भएर सुनुवाइको प्रक्रियामा छ।
सहकारीको सञ्चालक समिति सदस्य समेत रहेका अकौलिया २०८१ भदौ २७ मा सरुवा भएर स्वयम्भू पुगेका हुन्। आफ्नै इन्स्पेक्टर फरार सूचीमा रहेको भेटेपछि स्वयम्भू वृत्तका डीएसपी उद्धव सिंह भाटले त्यसबारे काठमाडौँ प्रहरी प्रमुख बसन्त रजौरेलाई खबर गरेका थिए।
प्रहरीले उनलाई मंसिर ४ मा काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। एक लाख धरौटी बुझाएर छुटेका अकौलिया स्वतः निलम्बनमा परेका छन्।
२०८० वैशाख ५ मा नागार्जुन नगरपालिकाले सहकारीलाई विश्वासघात गरेकोबारे अनुसन्धान गर्न पत्र पठाएपछि प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो।
पछिल्लो समय सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीदेखि पूर्वडीआईजीसम्म प्रहरी थुनामा छन्। पोखराको सूर्यदर्शन सहकारीसहित विभिन्न पाँच सहकारी ठगी प्रकरणमा जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी कास्की प्रहरीमा थुनामा छन्।