धनगढी: बैतडीमा बेपत्ता किशोरी अझै गायब छिन्। उनलाई खोज्न प्रहरीका फौज परिचालन भएको भएपनि पत्तो अझै लागेको छैन। सोही काण्डमा दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो।
जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए। बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो। उनीमाथि पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलारम पाण्डेका अनुसार ती किशोरी २५ गते बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन्। ‘एकाबिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन्।’
सोही दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए। किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक पाण्डेको भनाई छ।
‘अनुसन्धानका लागि प्रहरी हवल्दार जोशीलाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘अहिले हवल्दार जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।’
प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरण समेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका थिए। उता हवल्दार जोशीले भने किशोरीलाई बेपत्ता आफूँले नपारेको बयान दिएका छन्।
किशोरी बेपत्ता भएको सोमबार ४६ दिन बितेको छ। सो घटना अनुसन्धानमा सिआईबी टोली पनि आएको थियो। तर अनुसन्धान अझै अन्योलमा छ। सो घटनापछि डिम्बरमा रहेको महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरीलाई भने कुलाउ सारिएको छ। स्थानीय बासिन्दाले प्रहरीबाटै असुरक्षा भएको भन्दै महाकाली प्रहरी चौकी सार्न माग गरेपछि डिम्बरका प्रहरी वडा नम्बर ३ को कुलाउ बस्न थालेका हुन्।