काठमाडौं: पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा नेकपा एमालेका एक प्रदेश सांसद कारबाहीमा परेका छन्।
बाँके १(ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यताबाट निलम्बन गरेको हो। उनीमाथि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानी हुने सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप लगाइएको छ।
त्यस्तै, पार्टीको मूल्य मान्यताविपरीत सार्वजनिक रुपमा गालीगलौज गरेको, पार्टीविरुद्ध समाचार लेख्न लगाएकोजस्ता आरोप पनि थोपरिएको छ। एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले चौधरीलाई अनुशासनको कारवाही गरेको बताए।
पार्टीको नेतृत्व र कार्यकर्ताविरुद्ध प्रकाशित सामग्रीलाई लिएर शुरुमा उनलाई स्पष्टीकरण सोधिएको थियो। तर, आफ्नो गल्ती महसुश गर्नुको साटो उल्टै पार्टीविरुद्ध लिखित जवाफ दिएकाले विधानको धारा ८१ को उपधारा (७) बमोजिम अनुशासनको कारबाही गरिएको गुरुङले जानकारी दिए।
माओवादी छोडेर एमालेमा लागेका चौधरी लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री पनि हुन्।