दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिई चुनाव लडेका शंकर सिंह धामीले चुनावमा झण्डै २ लाख खर्च भएको बताएका छन् ।
मंगलवार निर्वाचन कार्यालयलाई आफ्नो चुनाव खर्च विवरण बुझाउँदै जम्मा १ लाख ८८ हजार ७९८ रुपैयाँ खर्च भएको बताएका हुन् । उनले आफ्नो चुनावी खर्च विवरण शीर्षकसहित सामाजिक संजालमा पनि सार्वजनिक गरेका छन् ।
कार्यालय स्थापनामा ४ हजार २ सय, गाडी भाडा र इन्धनमा ४२ हजार ४ सय, स्टेशनरीमा २५ हजार २५०, छापामा ६५ हजार ५ सय रुपैयाँ खर्च भएको छ । यस्तै खाना, चियानास्तामा ४६ हजार ४ सय ४८ र संचारमाध्यमको विज्ञापनमा ५ हजार गरी जम्मा १ लाख ८८ हजार ७९८ रुपैयाँ खर्च भएको उनले बताए । प्रदेश सभा क्षेत्र नम्बर १ मा काँग्रेसका विक्रम सिंह धामी निर्वाचित हुदाँ उनी पराजित भएका थिए ।
निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ । तोकिएको ढाँचामा खर्च विवरण पेश गर्न निर्देशन दिँदै प्रतक्षतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने आयोगले जनाएको हो ।
विवरण पेश गर्दा तोकिएको हद सीमाबमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ ।