काठमाडौं – नेपाल प्रहरीमा रिक्त रहेको चार जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) को लागि दौडधूप सुरु भएको छ । छ । एआईजी पद रिक्त भएपछि लामो समयसम्म बढुवा प्रक्रिया अवरुद्ध हुँदा प्रहरीमा केही अन्यौलता देखिएको थियो । तर, पछिल्लो समय गृहमन्त्रालयले निर्वाचन आयोगको अनुमति लिएर उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनीलाई सरुवा गरेसँगै अब बढुवा प्रक्रियाका लागि पनि बाटो खुलेको भन्दै आकांक्षीहरु शक्ति केन्द्रतिरको दौडधूप सुरु गरेका हुन् ।
निर्वाचनका कारण मंसिर १९ गतेसम्म निर्वाचन आचारसंहिता लाग्ने भएकोले लामो समयदेखि एआईजी पद रिक्त रहेको र केही विशेष स्थानहरूमा पदबहाली गर्नु पर्ने भएकोले गृह मन्त्रालयले निर्वाचन आयोगबाट सरुवा र बढुवाको लागि अनुमति लिएको जनाइएको छ ।
नेपाल प्रहरीमा २०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि।सी र कार्तिक २४ मा रबिन्द्र धानुकले अवकाश पाएका थिए । उनीहरुको अवकाशसँगै प्रहरीमा चार दरबन्दी रिक्त रहेको छ ।
गृहमन्त्रालयले अहिले बढुवाका लागि आवश्यक गृहकार्य गरिरहेको जनाइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहकै ब्याचीहरु समेत डीआईजी रहेका छन् । गृहले बरिष्ठताको आधारमा मात्र बढुवा गर्ने निर्णय गरेमा सिंहकै ब्याचका तीन जना डिआईजी एआईजी बढुवाको लाइनमा छन् । यसरी हेर्दा उनीहरु ३ जना र अन्यमध्येबाट १ जनाको बढुवा हुने स्रोतले दाबी गरेको छ ।
तर, केही डिआईजीहरुले बरिष्ठता मात्र नभई कामको मूल्यांकन पनि गर्नुपर्ने तर्फ लबिङ गरिरहेको जनाइएको छ । बरिष्ठताकै आधारमा निर्णय गरियो भने आईजी ब्याची ३ जनाबाहेक अन्य १ जनाले अहिले पालो पाउने भएका छन् ।
चार पदका लागि दर्जनबढी आकांक्षी रहेका छन् । मेरिट लिस्टका आधारमा प्रहरी महानिरीक्षक ९आईजी० धिरजप्रताप सिंहकै ब्याजीहरु अग्रपंक्तिमा रहेका छन् । लिस्टअनुसार मसाउद अलम खाँ, नल प्रसाद उपाध्याय र मोहन कुमार आचार्य अगाडि रहे पनि अन्य डिआईजीहरु आकांक्षी रहेका छन् ।
जसअनुसार गत असारमा डिआईजीमा बढुवा भएका अशोक सिंह, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई र दिपक थापा प्रतिस्पर्धामा अगाडि छन् । त्यसबाहेक किरण बज्राचार्य, मिरा चौधरी, सन्दिप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन् ।