काठमाडौं – पाथसिड नेपाल प्रालीबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा साइबर हमला भएको छ ।
बिहीबार बेलुका साँढे १२ बजेदेखि २ बजेसम्ममा उकेरा डटकमको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी प्रकाशित पाँच समाचार सामाग्री मेटाएको प्रति उकेरा टिमले ध्यानाकर्षण जनाएको छ।
उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी, ‘उपराष्ट्रपति पुत्र दीपेशको सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न सकेनु,’रवि लामिछानेसँग ठ्याक्कै मिल्ने भारतको एक मुद्दा जसले नेपाली चेली किरण अनागरिक बनिन्’ , निर्वाचन बदर भो’,’रविको अर्को ‘अपराध’को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट’, ‘जब थापाथली सुकुम्वासी बस्तीका बासिन्दाले सूचनालाई हल्ला सम्झिए‘’ लगायतका समाचार डिलेट गरी हेडलाइन बदल्ने र असम्बन्धित तस्बिर प्रकाशित गर्ने काम भएको थियो।
पटक-पटक सिएमएसको पासवर्ड बदल्दा समेत सो गतिविधि जारी रहेको उकेरा डटकमका अध्यक्ष सुरेस ढकालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । उकेराको प्राविधिक समूहको छानबिनमा सर्भरमा पटक-पटक आक्रमण गरी सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरेर ती सामाग्रीहरू हटाउने काम भएको देखिएको छ। यसले हामीलाई थप चिन्तित बनाएको छ।विज्ञप्तीमा भनिएको छ ।
उकेरामा प्रकाशित कुनै सामाग्रीप्रति कसैलाई आपत्ति भए कानुनी प्रक्रियामा जानुको साटो अनधिकृत रूपमा सिएमएसमा प्रवेश गरी क्षति पूर्याउने प्रयास हुनु भनेको प्रेस स्वतन्त्रतामाथिको हमला भएको विज्ञप्तीमा जनाईएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिक अवैध भएको र उनको सांसद पद खारेज हुनेलगायतका समाचार उकेराले प्रकाशित गर्दै आएको थियो ।