दार्चुला – भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि ढुंगा प्रहार भएको छ ।
विरोधको क्रममा भारतीय नागरिकको ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएका छन् भने नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा आवतजावत बन्द गरिएको छ।
वारिबाट पनि भारततर्फ ढुंगा हानिएको छ। त्यसबारे विस्तृत विवरण आउन सकेको छैन्।
आइतबार करिब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली त्यता पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्ला दिनमा नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माणलाई तीव्रता दिएको छ। निर्माणाधीन तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित बनिरहेका छन् ।